डेंगुले काठमाण्डौका अस्पताल अस्तब्यस्त, यस्तै रहे थेग्न नसकिने चिकित्सको भनाई

डेंगुले काठमाण्डौका अस्पताल अस्तब्यस्त, यस्तै रहे थेग्न नसकिने चिकित्सको भनाई ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा पुग्दा ज्वरोले निस्लोट बिरामीको लाइन परसम्म पुगिसकेको थियो । उभिने कसैको तागत थिएन,चिसो भुइँमा थचक्क बसेका थिए । 
अस्पताल प्रशासनका अनुसार पछिल्लो हप्ता डेंगुबाट ३६ बर्षीय पुरूष र २७ बर्षीया महिलाको मृत्यु भएको छ । २७ बर्षीया महिला अवस्था जटिल भइसकेपछि अस्पताल आइपुगेका कारण  बचाउन नसकेको चिकित्सकहरु बताउँछन् । ‘अत्याधिक रक्तस्राव भएर आउनुभएको थियो । केही दिन अगाडि मात्रै अस्पताल आएको भए बचाउन सकिन्थ्यो कि ?’ डा. चालिसे भन्छन् ।
आकस्मिक कक्षको बाहिरपट्टि एउटा टेबुल राखिएको थियो । अस्पतालका क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुन (एक्लै) एकपछि अर्को बिरामी हेर्दै थिए । डा. पुनले बिरामीको जाँच मात्रै नगरी हौसला पनि बढाइरहेका थिए । उनी बिरामीका आफन्तलाई पनि सम्झाइ बुझाइ गरिरहेका थिए । ‘कुन ठाउँ बस्नुहुन्छ ? समस्या भएको कति दिन भयो ? घरमा अन्य व्यक्तिमा पनि समस्या छ कि छैन ? यस्ता–यस्ता प्रश्न गर्थे ।सबै लक्षण हेर्दा डेंगु भएको आशंका गर्न सकिन्छ । घरमै आराम गर्नुहोस्, झोलिलो खानेकुरा खानुहोस्,’ डा. पुन सुझाव दिन्थे, ‘ज्वरो बढी भए पारासिटामोल खानुहोला । अरू आत्तिनुपर्ने केही छैन ।’ डाक्टरले नआत्तिनु भने पनि स्थितिले अत्याइरहेको छ ।