
आँखा अस्पताललाई अर्थ मन्त्रालयले सहयोग गर्ने
- ByYatra Online TV --
- १७ भदौ २०७९, शुक्रवार --
तिलगंगा आँखा अस्पतालको सेवा विस्तारमा अर्थ मन्त्रालयले सहयोग गर्ने भएको छ । हिजो आइतबार अस्पतालका संस्थापक डा. सन्दुक रुइतसहितको टोलीसंग भेट गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले उक्त कुरा बताउनुभएको हो ।
काठमान्डौको गौशालामा रहेको हालको अस्पताल परिसर साँघुरो भएको तथा अस्पतालको सेवा विस्तारकालागि हेटौँडामा संरचना निर्माण गर्ने योजना रहेको डा. रुइतको टोलीले अर्थमन्त्री शर्मालाई जानकारी गराउदै अर्थ मन्त्रालयसँग सहयोग माग गरेका थिए ।
भेटमा मन्त्री शर्माले उक्त टोलीलाई मन्त्रालय सहयोग गर्न तयार रहेको बताउनु भएको थियो । ‘अस्पतालले उत्पादन गर्ने लेन्स नेपालमा मात्र होइन धेरै देशमा निर्यात हुँदो रहेछ’, मन्त्री शर्माले भन्नुभयो, ‘नेपालमै ठूलो मात्रामा उत्पादन गर्दा सस्तो र सुलभ हुने देखियो । हामी छलफल गरेर के कति सहयोग गर्न सकिन्छ, गरौँला ।’
अस्पतालले हाल आँखाको नानी, आँखाको पर्दा, जलविन्दु, युभिआइटिस, आँखाको नशा, आँखाको प्लाष्टिक सर्जरी, बाल आँखालगायतका सेवा प्रदान गर्दै आइरहेको छ भने विभिन्न मुलुकका प्रशिक्षार्थीहरूले विशेषज्ञ तालिमसमेत लिने गरेको बताईएको छ ।