
मधेस प्रदेशमा बलिदानी दिवस मनाउन सार्वजनिक बिदा
- BySabitri Dhungana --
- ५ माघ २०७९, बिहिवार --
काठमाडौं, मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवसको रूपमा बिदा दिने निर्णय गरेको हो ।
मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको ज्यान गएको दिनलाई मधेस बलिदानी दिवसका रूपमा प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।
स्वायत्त मधेस एक प्रदेश र अधिकार प्राप्तिका लागि मधेसी जनताले आन्दोलनको विगुल फुकेका थिए। जुन आन्दोलन २४ दिनसम्म चलेको थियो।
मधेसमा अधिकारका लागि पटक पटक गरी तीन पटक आन्दोलन भयो। तीन वटै मधेस आन्दोलनमा गरी जम्मा १ सय ३ जनाले शहादत प्राप्त गरे। मधेस आन्दोलनकै बलमा प्रदेशको नामाकरण मधेश प्रदेश भएको छ।
यद्यपि आन्दोलन जति पुराने हुँदै गयो, आन्दोलनको विरासत पनि कमजोर हुँदै गएको आरोप समेत लाग्दै आइरहेको छ।
तर, मधेस आन्दोलनको सम्झनालाई ताजा राख्नका लागि प्रत्येक वर्ष यो दिनलाई बलिदानी दिवसको रुपमा मनाइदै आएको छ।
सोही अवसर पारेर मधेस सरकारले बलिदानी दिवस मनाउन लागेको छ। मधेस सरकारको आयोजनामा सप्तरीको राजविराजमा बलिदानी दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको छ।