
धनुषाको नगराइन नगरपालिकामा स्वास्थ्यका कर्मचारी आन्दोलित
- BySabitri Dhungana --
- २८ पुष २०७९, बिहिवार --
तलब भत्ता नपाएको भन्दै धनुषाको नगराइन नगरपालिकामा स्वास्थ्यका कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । आन्दोलनका कारण नगरपालिकाको सेवा एक महिनाभन्दा बढी समयदेखि ठप्प भएको हो। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको बजेट पारित नभएका कारणले नगरपालिकाका सबै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । नगरपालिकामा नियमित खोप कार्यक्रमसमेत प्रभावित भएको स्थानीयको गुनासो छ । करिब ६ महिनादेखिको तलब भत्ता नपाएका स्वास्थ्य क्षेत्रका कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि नगरपालिकामा सबै प्रकारका नियमित खोप सेवा बन्द भएका छन् । नियमित खोप कार्यक्रम प्रभावित भएका कारणले बालबालिकाहरूमा प्राणघातक रोगको जटिलता आउने खतरा देखिएको छ। जन्मदेखि १५ महिनासम्मका बालबालिकाहरूलाई दिइने विभिन्न प्रकारको नियमित खोप सेवा बन्द भएको छ । बालबालिकालाई बी सी जी, पेन्टा, पोलियो, एफ आई टी भी, निमोनियाबाट जोगाउनका लागि पीसीभी, दादुरा रुबेलासहितका १३ वटालक्षित खोप दिने गरिन्छ । मधेस प्रदेशका स्वास्थ्य निर्देशनालयका खोप अधिकृत रामउद्गार झाले खोप नलिएको खण्डमा समस्या आउने जोखिम रहेको बताउनु भयो । नगरपालिकाका मेयर तथा उपमेयरबीचमा योजनाको सञ्चालन तथा अनुगमनसहितको विषयमा नीतिगत विवाद भएका कारणले बजेट कार्यक्रम पास हुन नसकेपछि कर्मचारीहरूले तलब पत्ता नपाएका हुन् । पटक पटक प्रयास गर्दा समेत समस्या समाधान नभएको बताउँदै खोपजस्तो संवेदनशील विषय बन्द हुनु चिन्ताको विषय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले बताउनु भयो ।