महाभियोग सिफारिस समितिले माग्यो निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रको सम्पत्ति विवरण ।

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति विवरण मगाउने भएको छ । समितिले बिहीबार न्यायपरिषद्बाट जबराको सम्पत्ति विवरण माग गर्ने निर्णय गरेको सभापति रामबहादुर विष्टले बताएका छन् ।

अबेर मात्र उक्त निर्णय भएकाले शुक्रबार कार्यालय समयमा न्यायपरिषद्लाई पत्र पठाएर शुक्रबारै सम्पत्ति विवरण झिकाउने समिति सचिव लक्ष्मीप्रसाद गौतमले बताए । समितिले जबराले गरेका विवादास्पद फैसला र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जबराका परिवारमाथि अहिलेसम्मको छानबिनबाट प्राप्त गरेका विवरण पनि मगाउने निर्णय गरेको छ । 

प्रतिनिधिसभाको कार्यकाल असोज १ (शनिबार) मा सकिँदै छ । शुक्रबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको यो अधिवेशन असोज १ गते मध्यराति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी रहेको एक जना मन्त्रीले बताए । जसअनुसार अब प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिसमक्ष दुई दिन मात्र बाँकी छ, दुई दिनमा जबरालाई पूरक प्रश्न सोध्ने, उनले गरेका फैसला तथा सम्पत्ति विवरणलगायत कागजात अध्ययन गर्ने र प्रतिवेदन लेखेर सभालाई बुझाउने काम समितिले सक्ला त ?

सभापति विष्टले प्रतिवेदन पेस गर्ने बताएका छन् । समिति सचिव गौतमले पनि प्रतिवेदन लेखनको गृहकार्य भइरहेको र प्रतिनिधिसभाको यही कार्यकालभित्रै प्रतिवेदन बुझाउने बताए । एमालेका सांसदहरू भने सभामुखले महाभियोग प्रस्ताव नै समितिमा ढिलो गरी पठाएकाले अहिलेको अवस्था आएको बताएका छन् ।