बेलायती महारानीको अन्त्येष्टिको तयारी संसारभरिका राष्ट्रमण्डलबाट महारानीप्रति सम्मान व्यक्त

स्वर्गीय महारानीप्रति श्रद्धा व्यक्त गर्न हजारौं मानिस लन्डन आउने क्रम जारी छ । लाखौं मानिसले रानीको कफिन अवलोकन गर्ने भएकाले अतिरिक्त रेल सेवा पनि सञ्चालन गरिएको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ । वेस्ट मिनिस्टर सिटी काउन्सिलले सडक, पोल र भित्ताको सरसफाइ सुरु गरेको छ । संसारभरिबाट राष्ट्रमण्डल मुलुकका राष्ट्राध्यक्षहरू, सरकार प्रमुख तथा उच्च अधिकारीहरू स्वर्गीय महारानीप्रति सम्मान व्यक्त गर्न लन्डन आइपुग्ने अपेक्षा गरिएको छ । बीबीसीका अनुसार अमेरिकी रास्ट्रपति जो बाइडेन, अस्ट्रेलिया, क्यानडा तथा न्युजिल्यान्डका प्रधानमन्त्रीहरू अन्त्येष्टि समारोहमा सहभागी हुने निश्चित भएको छ ।
त्यस्तै बेल्जियम तथा स्पेनका राजा एवं रानीले पनि अन्त्येष्टि समारोहमा सहभागी हुने जनाएका बताइएको छ । वेस्ट मिनिस्टर आबीमा करिब दुई हजार दुई सय जना अट्छन् । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको गत बिहीबार ९६ वर्षमा निधन भएपछि चार्ल्स तृतीय औपचारिक रूपमा बेलायतको नयाँ राजा घोषित भइसकेका छन् ।
अन्त्येष्टिमा सहभागी हुन नेपालबाट दुई जनालाई आमन्त्रण गरिएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासकी उपनियोग प्रमुख रोशन खनालले नेपालबाट परराष्ट्रमन्त्री नारायण खड्काले सोमबारको अन्त्येष्टि समारोहमा भाग लिने जानकारी दिएका छन् ।